
काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी अन्तरक्रियामा उनले विदेशमा रहेका नेपाली कामदारले अनेकन समस्या झेल्नुपरेकामा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन् ।
सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो । कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्टका साथै आगामी कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले अन्तरक्रियामा राजदूतले उठाउनुभएका विषय सम्बोधन गर्दै निर्देशित गरेका छन् । सम्बोधनमा उनले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका छन् ।
“नेपाली श्रमिक तथा कामदारको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भने ।
पछिल्लो समय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुयाएको उनको भनाइ छ । मुलुकको भुक्तानी सन्तुलनमा सहयोगलगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको प्रधानमन्त्री दाहालले उल्लेख गरेका थिए ।
“वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलमा विभिन्न प्रकारका जोखिममा पर्नुलगायत समस्याको सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय रहेको छ”, उनले भने । नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।
“कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कूटनीतिक नियोगले गुनासो सुनुवाइ गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न यहाँको ध्यान जानेछ । म परराष्ट्र मन्त्रालय, राजदूत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायलाई नेपालीको हकहितका लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु”, उनले भने “हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरमा वृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ ।”







