काठमाडौँ, ५ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरूलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ यसमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री लामिछानेले आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए ।
उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । राज्यका निकायहरूलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानु होला, नतिजा आउनेछ । गलत काम गरेका मानिसहरू केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’
म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा गृहमन्त्री लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे । श्रम मन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको विरोध भएको थियो । लामिछानेले श्रम मन्त्री म्यानपावरमा संलग्न भएको पाए आफैँ पहिलो कारबाही गर्ने बताए ।







