पाँचथर, २८ पुस । श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिक्लाजुङ-३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेर फरार रहेका तुम्वेवा-४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले पक्राउ गरेको पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेकी स्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्यासँगै छिमेकी महेन्द्र श्रेष्ठ र सासू आमा कान्छिमाया फियाकलाई घाइते बनाएर बेपत्ता भएका थिए ।
घाइतेको झापा स्थित बि.एन्ड सी अस्पताल झापामा उपचार हुँदै छ । कुरुम्वाङ दम्पतीबीच पहिल्यैदेखि मेलमिलाप नभएको बताइएको छ । विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।






