श्रीलंका, १९ चैत । चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा संकटकाल घोषणा भएको छ ।
आर्थिक संकटका कारण देशभर सरकार विरोधी प्रदर्शन बढेपछि राष्ट्रपति गोटबाया राजपक्षेले मुलुकमा संकटकालको घोषणा गरेका छन् ।
यसअघि अघिल्लो दिनभर र रातभर राष्ट्रपति भवन अगाडि प्रदर्शन भएपछि कर्फ्यु आदेश जारी भएको थियो । पछिल्लो पटक हिजो राष्ट्रपति राजपक्षेले प्रदर्शनकारीमाथि सैन्य कारबाहीको अधिकार दिँदै संकटकाल लागू गरेका छन् ।
संकटकालमा प्रदर्शनमा उत्रिने माथि सेनाले गोली चलाउन सक्ने र पक्राउ परेकालाई लामो समय जेल राख्ने अधिकार दिइएको छ । राजपक्षेले एक सम्बोधनमा सार्वजनिक व्यवस्थाको सुरक्षा र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवा उपलब्ध गराउन संकटकाल लागू गरिएको बताए ।