श्रीलंका, २८ वैशाख । श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ ।
त्यहाँको रक्षामन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सान पु¥याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिइएको जनाएको हो । अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ।
रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेरथका अनुसार सार्वजनिक सम्पत्ति लुट्ने वा नोक्सान पु¥याउने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको हो । प्रदर्शनकारीले सत्तारुढ दलका नेताहरुको घरलाई निशाना बनाउँदै आगजनी गरिरहेका छन् । राष्ट्रपतिको आधिकारिक आवास क्षेत्र वरपरका घरमा पनि आगजनी गरिएपछि ठूलो संख्यामा प्रहरी र सेनाको आपतकालीन शक्ति तैनाथ गरिएको छ ।
आर्थिक संकटले श्रीलंकामा इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभाव छ । जसका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकन नागरिक राजपाक्षे परिवारविरुद्ध कोलम्बोका सडकमा प्रदर्शन गरिरहेका छन् ।