श्रीलङ्का, १७ जेठ । देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । त्यो रकम प्राप्त गर्न श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ ।
भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गएको हप्ता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए । यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलङ्काली उच्चायुक्तले वार्ता गरेका हुन् ।
श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । आर्थिक मन्दीले पिरोलिएको टापु राष्ट्र कोभिड-१९ महामारीका कारण थप प्रभावित भयो भने महामारीको समयमा पर्यटन उद्योग सञ्चालन नहुँदा विदेशी मुद्राको सञ्चिति सकिएसँगै ऋण सहायताका निम्ति छिमेकी भारतलाई गुहार्नु परेको हो ।
विदेशी मुद्राको अभावमा देशलाई पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन सर्वसाधारणलाई खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको छ । आधारभूत आवश्यकता पूरा हुन नसक्दा धेरैजसो श्रीलङ्कालीको जीवन कष्टकर बनेको छ ।