श्रीलङ्का, १० साउन । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् ।
शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो ।
चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्तामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । श्रीलङ्काले ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन । देशको अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाहरूको वर्तमान अवस्थाको बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् । यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् जसको अवस्था अहिले कन्त बिजोक बनेको छ ।
सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आपतकालीन शल्यक्रिया गर्न समेत कटौती गर्न बाध्य भएको बताएका छन् । त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ ।
‘श्रीलङ्काको कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणाली समेत अहिले खतरामा छ,’ संयुक्त राष्ट्रसंघ निवासी संयोजक हाना सिंगर-हाम्डीले एक विज्ञप्तिमार्फत जनाएकी छन् । ‘सबैभन्दा कमजोरहरूले र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेका छन्,’ उनले भनिन् ।