श्रीलङ्का, २९ वैशाख । श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ ।
गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उनलाई पक्राउ गर्न निवेदन दिएका छन् ।
शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्रमण गरेका खबरमा उल्लेख छ । अदालतले यस्तो अवस्थामा राजपाक्षे र उनका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई पक्राउ गर्न माग गरेर प्रहरी मुख्यालयमा उजुरी दिएका छन् । देशमा बढ्दो आर्थिक सङ्कट र प्रदर्शनका कारण महिन्दा राजपाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् ।