श्रीलङ्का, ६ जेष्ठ । आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । पछिल्लो मन्त्रिमण्डलमा अर्थमन्त्रीबाहेक नौ मन्त्रीलाई नियुक्त गरिएको छ ।
राष्ट्रपति गोटबाया राजपाक्षेका जेठा दाइ महिन्दा राजपाक्षले श्रीलङ्काको अर्थतन्त्रलाई सङ्कटको सङ्घारसम्म पुर्याएको आरोप लागेको छ । उनको प्रशासनलाई दोषी ठहर्याएपछि प्रधानमन्त्री रनिल विक्रेमासिङ्घेले यस महिनाको सुरुमा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेका छन् ।
विक्रमासिङ्घेले अघिल्लो मन्त्रिमण्डल विघटन भएपछि गठबन्धन सरकार बनाउने प्रतिबद्धता जनाउँदै नेतृत्व सम्हाल्एका थिए । कोलम्बोमा उनको कडा सुरक्षा रहेको सरकारी निवासमा राष्ट्रपति गोटबाया राजपाक्षे सामु स्वास्थ्य, शिक्षा र न्यायका लागि नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको सरकारले जानकारी गराएको छ ।
मुख्य विपक्षी ‘समागी जन वालवेगया (एसजेबी) पार्टी’ का दुई विधायकले नयाँ सरकारमा सामेल हुँन आफ्नो दलबाट राजीनामा दिएका छन् । अर्को विपक्षी दल ‘श्रीलङ्का फ्रिडम पार्टी’ ले राष्ट्रपति राजपाक्षेलाई समर्थन गर्न सहमति जनाएको छ र उसलाई नयाँ मन्त्रिमण्डलमा सामेल गरिएको छ ।
कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग प्रमुख वार्ताका लागि जिम्मेवारीसहित आउने अपेक्षा गरिएको अर्थमन्त्रीको जिम्मेवारी भने नयाँ मन्त्रिमण्डल विस्तार हुँदा पनि खाली राखिएको छ । प्रधानमन्त्रीको कार्यालयले एएफपीलाई जानकारी गराएअनुसार त्यस जिम्मेवारीका लागि अर्को हप्तासम्म लाग्नेछ ।