श्रीलङ्का, ३ वैशाख । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ ।
सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् ।
अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ । रातिको समयमा भने बिजुली कटौती नगर्ने तालिका बनाइएको छ ।
यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न वस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ । वस्तु तथा सेवाको अभाव र मूल्य वृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।