श्रीलङ्का, ८ भदौ । श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ ।
आर्थिक सङ्कटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो ।
राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेको थियो । उनी अहिले थाइल्याण्डमा रहेका छन् भने उनले स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।
गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलङ्का आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए ।
दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो ।