भारत, १७ कार्तिक । भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
बिहीवार भएको खेलमा भारतले श्रीलङ्कालाई ३ सय २ रनको फराकिलो अन्तरले हराएको हो ।
भारतले दिएको ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर ४ बलमा ५५ रनमै अलआउट भयो । श्रीलङ्काका कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । उसका ४ जना खेलाडी शून्य रनमै आउट भए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५, र मोहम्मद सिराजले ३ विकेट लिएका थिए ।
यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो । भारतका शुभमन गिलले ९२, विराट कोहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिएका थिए ।
भारत १३ औँ संस्करणको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । भारत ७ खेलमा सबै खेल जित्दै १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।