काठमाण्डौ, २ फागुन । श्रीलङ्काले अस्ट्रेलियासँगको एकदिवशीय शृङ्खला जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली श्रीलङ्काले अस्ट्रेलियालाई एक सय ७४ रनले हराएको हो । दुई खेलको एक दिवशीय शृङ्खलाको पहिलो खेलमा पनि श्रीलङ्काले अष्ट्रेलियालाई ४९ रनले हराएको थियो ।
श्रीलङ्काले दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २४ ओभर दुई बलमा एक सय सात रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सबैभन्दा धेरै २९ रन बनाए । यस्तै जोश इंग्लिसले २२ र ट्राभिस हेड १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । श्रीलङ्काका डुनिथ वेलालेजले चार विकेट लिए । यस्तै असिता फर्नान्डो र वानिन्दु हसरङ्गशाले समान तीन विकेट लिए ।
त्यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले चार विकेट गुमाएर दुई सय ८४ बनायो । श्रीलङ्काका लागि कुशल मेन्डिसले एक सय एक रनको शतकीय पारी खेले । निशान मदुष्काले ५१ रन बनाए । यस्तै कप्तान चरिथ असलङ्काले अविजित ७८ र जानिथ लियानागेले अविजित ३२ रन बनाए । अष्ट्रेलियाका लागि बेन द्वारशुइस, आरोन हार्डी, शन एबट र एडम जाम्पाले समान एक विकेट लिए ।
श्रीलङ्का भ्रमणमा रहेको अष्ट्रेलियाले दुई वटा टेष्टको शृङ्खला जितेको थियो ।