काठमाडौँ, ४ साउन । श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी रु एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १०० अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।
सर्वसाधारणलाई बिक्री खुला गरिएको शेयरमा लगानीकर्ताले आगामी साउन ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिन्छ ।