काठमाडौँ, २७ चैत । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० मा झार्नुपर्ने बताएका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।
‘२७५ जनाको प्रतिनिधिसभा र ५५० जनाको प्रदेशसभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमश: १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।’ उनले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौँमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्यो धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन ।’ उनले भने ।







