काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइतबार मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । सरकारले रेशम चौधरीसहित राजनीतिक दलका कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउन लागेको हो । तर, देउवाको पार्टीभित्रैबाट आलोचना हुने देखिएको छ ।
आइबार राति नवनिर्वचित सांसदसमेत रहेका शर्माले संक्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । उनले पार्टीभित्र देउवाले यसबारे छलफल नै नगरेको पनि बताएका छन् ।
‘सडकमा छँदा जे सत्य, संसद्मा पनि त्यही नै सत्य! त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘! संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ,’ शर्माले ट्विटरमा लेखेका छन् ।







