काठमाडौँ, ८ भदौ । नेकपा एमालेले शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन आफूहरू सकारात्मक भएको बताएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन आफूहरूको सहयोग रहने बताएका हुन् ।
एमाले अध्यक्ष सुवास नेम्वाङले भेटमा भएको कुराकानीबारे जानकारी दिँदै भने, ‘हामीले सरकारमा हुँदा पनि प्रतिपक्षमा हुँदा पनि टीआरसीका विषय टुंग्याउने सकारात्मक नै छौँ भन्यौँ । यसमा मुख्य जिम्मेवार व्यक्ति भनेको शेरबहादुरजी र प्रचण्डजी नै हो । तर यसलाई टुंग्याउन हामी सधैं सकारात्मक छौँ भन्यौँ । सरकारमा हुँदा हामीले यसलाई धेरै अगाडि बढायौँ । तर गठबन्धनले एक वर्ष त्यसै सुतेर बस्यो ।’
उपाध्यक्ष नेम्वाङले अहिले पनि द्वन्द्वपिडितले विभिन्न मागहरूसहित आन्दोलन गरिरहेकाले उनीहरूको पनि कुरा सुन्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको बताए । ‘अहिले हतारहतारमा यसलाई टुंग्याउन खोज्नुभयो । शान्तिप्रक्रियामा हाम्रो सहयोग रहन्छ । यसमा सबैका कुरा सुनौँ भन्यौँ,’ उनले भने ।
त्यस्तै भेटमा पछिल्लो समय सरकार र प्रतिपक्षबीच रहेको संवादहीनताका बारेमा समेत चर्चा भएको उपाध्यक्ष नेम्वाङले जानकारी दिए । भेटमा प्रधानमन्त्रीसँग भएको कुराकारीबारे जानकारी दिँदै उनले भने, ‘गठबन्धनले प्रतिपक्षसँगको सम्बन्धलाई निषेधको सम्बन्धका रूपमा अगाडि बढायो, यो ठीक होइन भन्यौँ । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा स्वच्छ चुनाव हुन्छ । चुनाव जसले जित्छ त्यसले सरकार चलाउँछ । सरकार र प्रतिपक्ष दुवै संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्छ भन्यौँ । तर गठबन्धनले प्रतिपक्षलाई घेराबन्दी गर्नु ठीक होइन भन्दै निर्वाचन तोकिएकै समयमा हुनुपर्छ । निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ भन्यौँ ।’
नागरिता विधेयकका सम्बन्धमा पनि आफूहरूले कुरा राखेको नेम्वाङले बताए । राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सहमतिलाई सरकारले बेवास्ता गरेको एमालेले बताएको छ । उनले भने, ‘नागरिकता विधेयकसम्बन्धमा संसद्मा धेरै कुरा राख्यौँ आफ्ना कुराहरू राख्यौँ । विगतमा समितिमा गएर धेरै गृहकार्यपछि सहमति भएको थियो । त्यसलाई मानिएन । पुनर्विचार गर्नका लागि राष्ट्रपतिले फिर्ता पठाउनुभयो । त्यसलाई स्वाभाविक रूपमा लिएर पुनर्विचार गर्नुपर्ने विषय थियो । त्यसलाई गठबन्धनका नेताबाटै अनावश्यक कुरा गर्ने काम भयो । यो बेठीक भयो भन्दै आफ्ना असन्तुष्टि राख्यौँ ।’







