Logo

संघीय संसद्को ओज र गरिमा घट्यो: सापकोटा



काठमाडौँ, १५ फागुन । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका छन् ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका हुन् ।

उनले संसद्‌मा चयन हुने शब्द र वाक्यहरू संसद्को ओज र गरिमाअनुसार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले संसद्‌मा बोलेको कुराहरूको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भए पनि संसद्को त्यो प्रकारको गाम्भीयर्ता कायम हुन नसकेको बताएका हुन् ।

सुशासनको शक्तिशाली सन्देश संसद्‌बाटै प्रवाह हुनुपर्ने बताए । संसद्को गरिमा कायम नहुनुमा आफूले नेतृत्व र सांसदहरूलाई भने दोष नदिने स्पष्ट पारेका थिए ।

उनले विचारको रिक्तता र शून्यताका कारण संसद्को लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए । विचारको शून्यताको कारण संसद्को मात्र नभइ पार्टीहरू र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले विचारको शून्यता छ । विचारको रिक्तता छ । त्यसै भएर जताजतै अराजकता छ । संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेका कोर्षमा स्तर घटिरहेको छ त्यो संसद्को । संसद् त हाम्रो धमनी हो नि । हाम्रो आत्मा हो नि । सुशासनको शक्तिशाली सन्देश त्यहीँबाट प्रवाह हुनुपर्ने हो नि । संसद् आफैँमा सार्वभौम सत्ता सम्पन्न हो । संघीय संसद् कति माथि छ । त्यहाँ त्यही ओज र गरिमा कायम छ? छैन । त्यहाँ चयन गर्ने शब्द, त्यहाँका वाक्य गठनहरु, त्यहाँको स्तर, त्यहाँको ओज, गरिमा, त्यहाँ बोल्ने कुरा संसारको कुनै अदालतमा मुद्दा लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्