Logo

संघीय संसद्लाई मागे जति बजेट दिनुपर्छ: अध्यक्ष तिमिल्सिना



काठमाडौँ, २८ मङ्सिर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीबार संघीय संसद् सचिवालयद्वारा १७ ‍औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले संघीय संसदले बजेट पास गर्ने भएपनि संसद्मै बजेट कम भएर आवश्यक कार्यक्रमहरु गर्न नसकिएको बताए । संघीय संसद्को लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन उनले आग्रह गरेका थिए ।

‘संघीय संसद्ले बजेट पास गर्छ । यसो हेर्दाखेरी बजेट संघीय संसद्ले पास गर्छ । अनि संघीय संसद्मै बजेट कम भएर सप्ताहव्यापी कार्यक्रम पनि खुम्च्याउनुपर्छु उनले भने,’विधि निर्माण गर्ने, बजेट पास गर्ने यो थलोको बजेट कुनै एउटा मन्त्रालयले तोकेर विभाग र शाखाको जस्तो बनाउनु हुन्न भन्ने कुरालाई ध्यान त दिनुपर्‍यो नि !’

अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसदको अधिवेशन र समितिहरु चलाउनका लागि भने आवश्यक बजेट नघटाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्