रुपन्देही, १ मङ्सिर । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।
शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव-२०८० को उद्घाटन समारोहमा बोल्दै उनले संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरू बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरेका हुन् ।
सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढदै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिए ।
वरिपरी जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भएपनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए । सांसद भण्डारीले स्थानीय तह राम्रो भएपनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्याएका थिए ।







