हेटौँडा, २० भदौ । वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने बताएका हुन् ।
संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो काम देखाउन नसकेको उनको गुनासो छ । उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको आरोप लगाए ।
“संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेको छैन । सरकारले कानुन बनाउँदैन । कानुन नबनाइकन काम गर्न पाउँदैनौँ । प्रदेश सरकार र स्थानीय सरकारले कानुन बनायो भने पनि संघीय सरकारले कानुन नबनाइकन लागु पनि हुँदैन,” उनले भने, “संघीय सरकारले बनाएको कानुनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहेको छ भन्दा संघीय सरकार मुलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।”







