काठमाडौँ, ८ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् ।
पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य/अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका उनले ट्विट्मार्फत् भनेका छन्, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि?’







