Logo

संविधानमा उचित संशोधनका लागि समिति बनाएर काम गर्छाैँ: प्रधानमन्त्री



धनुषा, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताउनुभएको छ । मङ्गलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गर्नुभयो । “सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छाैँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली कांग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्यान्डाेराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजतन्त्र फेरि ल्याउने भनेर केहीकेही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गर्नुभयो । “यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । कलिलो अवस्थाको व्यवस्थाका केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन ।”, उहाँले भन्नुभयो, “हामी अब गतिमा गइसकेका छौँ । यस प्रणालीअन्तर्गत संसदको शपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताउनुभयो । “सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग असल मित्रता छ ।”

उहाँले यो प्रणाली उत्तम रहेको र यसै प्रणाली मार्फत प्रदेशसभासहितका संरचना निमार्ण भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले राजतन्त्र समान्ती प्रणाली भएकाले नयाँ पुस्तालाई राजतन्त्रको बारेमा जानकारी नभएको बताउनुभयो ।

देशका समस्या समाधानका लागि कांग्रेस एमालेको वर्तमान समीकरण निमार्ण भएको र यो २०८४ सालको निर्वाचनसम्म रहने दाबी प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले मधेश प्रदेश सरकारले सामाजिक सुधारका कामलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेमा जोड दिँदै समाजमा रहेका अन्धविश्वास कुरिती र कुचलनलाई जनचेतनाको माध्यमबाट हटाउनु पर्नेमा जोड दिनुभयो । उहाँले मधेश प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई जनकपुरधाम विमानस्थालमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह सहितका प्रदेश सरकारका मन्त्रीले स्वागत गर्नुभएको थियो । प्रदेशसभामा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्