काठमाडौँ, ११ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको जिकिर गरेका छन् ।
मङ्गलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावलीलगायतका पर्वहरूको अवसरमा काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।
उनले तत्कालीन सत्तारूढ पार्टीले दुई पटक संसद् विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए । देशको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर देशको नेतृत्व दिनुपरेको उनको भनाइ छ ।
मन्त्री बडूले कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्याएको जिकिर गरे । कांग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको भनाइ छ ।







