काठमाडौं, २ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाउनुभएको हो ।
उहाले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाउनुभयो ।
त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रिक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको र सरकार निषेधमा उत्रिएको उल्लेख गर्नुभयो ।
फरक बिचार राखेकै आधारमा निषेध गर्दै लैजाने औपचारिक नीति सरकारको हो भने आफूहरू विद्रोहमा जाने उहाले बताउनुभयो ।
उहाले सरकारको कदम मानवअधिकार र संविधान विरुद्धका साथै प्रजातान्त्रिक हक अधिकारको विरुद्ध रहेको जिकिर गर्दै घोर भर्त्सना गर्नुभएको छ ।