कास्की, १५ असोज । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था खतरामा रहेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको दाबी गर्दै प्रणालीमा चित्त नबुझे बहस गर्नुपर्ने तर अराजकता र अस्थिरता निम्त्याउने काम गर्न नहुने बताए । उनले व्यवस्था र संविधान जोगाउन वामलोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।
माओवादी केन्द्र पोखरा महानगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा महासचिव गुरुङले यतिबेला मुलुक नै संकटमा परेको बताएका हुन् । नजिकिँदै गरेको निर्वाचनमा केन्द्रित रहदै उनले अहिले टिकट लिने क्रममा आ–आफ्नो पार्टीभित्र संघर्ष भए पनि टिकट पाएपछि वामलोकतान्त्रिक गठबन्धन नै एकताबद्ध भएर अगाडि बढ्ने बताए । ‘हाम्रो पाँच दलीय गठबन्धन अहिलेको व्यवस्था र संविधान रक्षाको लागि हो,’ उनले भने, ‘प्रतिगमनहरूको गठबन्धन संघीयता र कानुनका विरोधीहरूको हो ।’
निर्वाचनलाई आन्दोलनका रूपमा लिनुपर्ने पनि गुरुङको भनाइ थियो । नेपालको इतिहास, विकासको गति र भविष्यमा समाजवादको गति लिन निर्वाचन आवश्यक रहेको बताए । आगामी निर्वाचनमा प्राप्त मतले संघीयताको पक्ष र विपक्षमा को(को छन् भन्ने पनि प्रष्ट पार्ने उनको भनाई थियो । एमालेतिर लक्षित गर्दै उनले दुई पटक संसद् विघटन गर्नु, ९ महिना संसद् अवरोध गर्नु पनि गलत चिन्तन रहेको बताए ।







