Logo

संविधान बचाउनका लागि हामीले विद्रोह गरेका हौँ: झाँक्री



काठमाडौँ, २ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले संविधान बचाउनको लागि आफूहरूले विद्रोह गरेको बताएकी छन् ।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा पुगेको स्मरण गर्दै आफ्नो निर्णय लिन सधै स्वतन्त्र हुने बताएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनितिक निर्णय लिएको दिन हो । मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो । हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडी बढाएको दिन हो ।’

उनले विद्रोह गर्दा दायाँबायाँका राजनीतिक अभिभावक छोडेर आएको समेत उल्लेख गरेकी छन् ।

‘सामान्यतः म मेरो निर्णय लिन सधै स्वतन्त्र नै हुन्छु । राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन । स्वतन्त्रता यानेकी आजादीको त्यही प्याशनले होला जोखिम मोल्न र चुनौतिपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन्’ उनले भनिन् ।

उनले अहिले उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय आएको बताइन् । आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने संकल्प गरेको समेत बताइन् ।

‘हो हाम्रो विद्रोह त्यही थियोः संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपलब्धिको रक्षा गर्न, यो राजनितिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहाना अनुसार संचालन गर्न गर्न’ उनले भनेकी छन्, ‘गठबन्धन आजको आवश्यकता हो । संविधानलाई गति दिन, संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक बिकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ ।’

नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता भएको बताइन् । उनले अहिले आफ्नो पार्टीभित्र देखिएको भन्ने विवादको कुनै सत्यता नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्