काठमाडौं, ५ वैशाख । गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै उहाले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न निर्देशन दिनुभएको हो ।
‘संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस भइरहेका छन् । यो कुनै हालतमा सैह्य हुन सक्दैन । क्षम्य हुँदैन,’ उहाले भन्नुभयो, ‘त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस् ।’
संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने उहाको भनाई थियो ।
‘आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ,’ उहाले भन्नुभयो, ‘तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन । च्यात्न पाइँदैन । फाल्न पाइँदैन ।’