Logo

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ: पौडेल



काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उनलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, “नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेख गर्ने अभिभारा र जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।”

उनले आफूलाई सङ्घीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरुको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गरेका छन् । नेता पौडेलले भने, “म सबै नेपाली दाजुभाई दिदिबहिनीहरूलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यो राष्ट्रको जर्गेना गरौँ, संविधानको रक्षा गरौँ ।”

उनले ७० वर्षसम्म लडेर प्राप्त गरेको राजनीतिक व्यवस्थाको टुङ्गो लगाउन सफल भएको र यसको ठूलो महत्त्व रहेको उल्लेख गर्दै यसमा खेलबाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास भएको बताए ।

प्रतिक्रिया दिनुहोस्