काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले निर्वाचनमा गठबन्धन आवश्यक हुने बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन आइतबार सानेपा पुगेका थापाले पत्रकारसँगको कुराकानीमा संविधान र लोकतन्त्र संस्थागत गर्न गठबन्धन आवश्यक भएको बताएका हुन् ।
“चुनावी गठबन्धन गर्नुपर्ने राष्ट्रको आवश्यकता हो । लोकतन्त्र संस्थागत गर्न र मुलुकलाई सुशासनमा हिँडाउन पनि गठबन्धन गर्नुपर्छ,” उनले भने, “ओली सरकारले संसद् भंग गरेर अध्यादेशबाट देश चलाएको थियो । सरकार अधिनायकवादमा चलेको थियो । अधिनायकवादकै कारण एमाले नै फुटेको थियो ।”
उनले सधैँ गठबन्धन नगर्ने भन्दै लोकतन्त्र र संविधान संस्थागन गर्न गठबन्धन आवश्यक भएकामा जोड दिए । “सधैँ गठबन्धन गर्ने होइन र गठबन्धन चुनाव जित्नका लागि मात्र पनि होइन,” थापाले भने, “संविधान जोगाउन र लोकतन्त्र बचाउन गठबन्धन गर्नुपर्छ ।”
उनले कांग्रेसले गठबन्धन गर्ने भन्दै कसरी र कहाँ–कहाँ गर्ने भन्ने मोडल भने पार्टीले तयार पार्ने बताए । “स्थानीय तहको मतभारका आधारमा गठबन्धनको मोडल बनाउनुपर्छ,” उनले भने ।