काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने बताए ।
उनले निर्वाचन तालिकालाई बदलेर संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिए । नेता निधिले भने, “यसले सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुग्छ, यसका लागि जे जे संशोधन गर्नुपर्छ त्यो गरौँ ।” संविधानलाई कार्यान्वयन गर्ने हो भने जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनेमा कसैले पनि कुनै बाधा अड्चन गर्न नहुने उनले बताए । “न संसद्, न कार्यपलिका, न न्यायालयले अवरोध गर्न पाउँछ”, उनले भने ।







