Logo

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन शीर्ष नेताहरुको बैठक बस्दै



काठमाडौँ, १४ जेठ । सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्दैछ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार आइतबार बिहान ९ बजे बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्ने भएको हो ।

मन्त्री गिरीले भन्नुभयो, “कार्यादेश बनाउन गठित समितिमा भएको सहमति र विमतिका सन्दर्भमा शीर्ष नेतृत्वको बैठकबाट सहमति गरेर कार्यादेश र क्षेत्राधिकारलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।”

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पनि शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउने समझदारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्