काठमाडौँ, २६ असार । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।
बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सूर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताउनुभएको हो ।
समितिले आज सहकारीका संचालक र पीडितहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पीडितले आफूहरुले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गर्नु भएको थियो । सभपति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताउनुभयो ।
उहाँले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको स्पष्ट पार्नुभयो ।