काठमाडौं, ९ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दलकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
बिहीबार दलको कार्यालयमा बसेको बैठकले इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्रस्ताव दर्ता गरेको हो। प्रस्तावमा चारजना मन्त्रीसहित २१ सांसदले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री लामाको नेतृत्वमा आएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर दलभित्र विवाद चर्किएपछि नेतृत्व परिवर्तनको पहल गरिएको हो ।
कांग्रेस विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ ।
अविश्वासको प्रस्ताव दर्ताअघि कांग्रेसका चारजना मन्त्री– सुरजचन्द्र लामिछाने, बिमल ठकुरी, मधु श्रेष्ठ र मीनकृष्ण महर्जनले राजीनामा दिएका छन् ।
उनीहरूले राजीनामा ह्वाट्सएपमार्फत मुख्यमन्त्री लामालाई पठाएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री परिवर्तनको निर्देशन दिएपछि बानियाँ पक्ष सक्रिय भएको छ ।
तर, लामा नेतृत्व नछाड्ने अडानमा अडिग छन्। २०७९ पुसमा दलको नेताका लागि भएको प्रतिस्पर्धामा लामा २१ मत ल्याएर निर्वाचित भएका थिए भने बानियाँ १६ मतमै सीमित भएका थिए ।