Logo

संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी: तिमिल्सिना



पोखरा, ६ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिएका छन् ।

चीनको छेन्दु-तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुसी र गर्वको विषय भएको जनाउँदै उनले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बत्मा पाँचौँ पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रण भई आफूहरू त्यसतर्फ गएको जानकारी दिँदै उनले उक्त क्रममा चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताए ।

सङ्घीय ससंद्का पदाधिकारी र सदस्यसहित दुई जना संसद् सचिवालयका कर्मचारी सहभागी नौ सदस्यीय प्रतिनिधिमण्डल गत जेठ २७ गते रातिको उडानबाट गोन्जाओ हुँदै बेइजिङ पुगिएको उनले जानकारी दिए ।

बेइजिङमा महत्वपूर्ण भेटवार्ता गरी त्यहाँबाट साङ्घाई र फर्किएर तिब्बत् आएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । त्यहाँबाट बसाइँमा नेपाल र चीनबीचका दुईपक्षीय सम्बन्धसँगै व्यापारिक, व्यावसायिक र आर्थिक सम्बन्ध विकासका लागि महत्वपूर्ण छलफल गरिएको उनले बताए ।

उनका अनुसार चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष, चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष, साङ्घाइको नगरपालिका सचिव, तिब्बत्को स्वसाशित क्षेत्रको चिनियाँ कम्युनिष्ट पार्टीको सचिवलगायतसँग भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्