काठमाडौँ, ७ भाद्र । संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।
बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरिएको हो । यसका लागि भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए ।
“संसदीय समितिका सभापतिहरूको अविलम्ब निर्वाचन गर्नुपर्ने, टुंग्याउनुपर्ने विषयमा भयो । ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन हुनेछ,” उनले भने, “१० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ । यसरी अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । आजै सूचना प्रकाशित हुनेछ । आज यही महत्त्वपूर्ण निर्णय भएको छ ।”







