काठमाडौँ, १५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।
खिर खाने दिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै कल डिटेल हेर्न नदिएको बताए ।
उनले शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेजनै गायब गरिएको दाबीसमेत गरेका हुन् ।
‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइँदैन, लजा । अब उबेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । उबेला चोरी पत्ता लगाउनु पर्यो भने तामा-तुलसी राखेर कसम खाने चलन थियो,’ उनले भने ।







