काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति हुनु सकारात्मक भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै एमालेका उपमहासचिवसमेत रहेका सांसद भट्टराईले आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश गर्नुभन्दा अघिल्लो दिन अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरेको विषयमा गम्भीर भएकाले नै पार्टीले गम्भीरतापूर्वक छानबिनका लागि आवाज उठाएको बताए ।
सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्वका विषयमा अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिएलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सांसद भट्टराईलाई बोल्नका लागि समय उपलब्ध गराइएको थियो ।







