काठमाडौँ, १ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अघिल्लो सरकारका असंवैधानिक कार्यबाट संविधान र लोकतन्त्रको रक्षा गर्न संसद् सफल भएको उल्लेख गरेका छन् ।
उनले भने, “प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भए पनि अकाल मृत्यु भोग्नुपर्ने अवस्थाबाट जोगाएका छौँ । अकाल मृत्यु भोग्नुपर्ने अवस्थामा सदन पुगेको थियो । त्यो अवस्थाबाट सदन बचेको छ । जनता, नागरिक समाजले सडक आन्दोलन गरेर र अदालतले संसद् जिवित गरायो ।”
माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहालले पाँच वर्ष प्रतिनिधिसभा जसरी चल्नुपर्ने थियो त्यसरी चल्न नसकेको बताए । “यो पाँच वर्ष जसरी व्यतित हुनुपर्दथ्यो । त्यो हुन सकेन । दुईपटक संविधान विघटन भयो । सात महिना चलेन”, उनले भने, “संविधानअनुसार स्थायी र समृद्धिको यात्रा अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर दुर्भाग्य त्यस्तो भएन । तीन वर्ष नपुग्दै तत्कालीन सरकार अगाडि जान सकेन ।”







