Logo

संसद्‍ अवरोधका कारण नियमित काम कारबाही अगाडि बढाउन सकिएन: सभामुख



काठमाडौँ, २७ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निरन्तर संसद्‍ अवरोध हुँदा नियमित कानुन बनाउन नसकिएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसद्‍ अवरोधका कारण नियमित काम कारबाही अगाडि बढाउन नसकेको बताएका हुन् ।

उनले संसद्को अवरोध हटाउन सांसदहरूलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

‘केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकहरू छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौँ । माननीयज्यूहरूले संसद्‍ अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु,’ सभामुख घिमिरेले बताए ।

उनले अघिल्लो कार्यकालमा पनि संसद्‍ विघटनसहितका कारण संसद्‍ले नियमित काम गर्न नसकेको स्मरण गरे । सभामुख घिमिरेले मानव अधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको पनि बताएका हुन् ।

‘अघिल्लो संसद्‍मा पनि संसद्‍ विघटन, पुनर्स्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा प्रर्याप्त छलफल हुन सकेन । मानव अधिकार आयोगको घटुवा जस्ता गम्भीर विषयमा जसरी संसद्‍मा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अरू पनि थुप्रै विधेयकहरू छन्, नीतिहरू बनाउनुपर्ने अवस्था छ । यो परिस्थितिको अन्त्य हुनैपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्