काठमाडौँ, २ भाद्र । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् ।
सङ्घीय संसदद्वारा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरक्रियामा उनले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँगत नभएको उल्लेख गरेका हुन् ।
नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुन: पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।’
देशमा पछिल्लो समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।







