Logo

संसद् विघटन नगरेकाे भए वामपन्थी आन्दाेलन ध्वस्त हुन्थ्याे: ओली



काठमाडौँ, ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् ।

मङ्गलवार पार्टीको बाग्मती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन्

उनले प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने दाबी गरे । उनले प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै त्यो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरेका थिए ।

उनले भने, ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्‍यौँ । त्यस बेला बिल्कुलै समसामयिक कदम चाल्यौँ । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो । मुख्यरूपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो ।’

अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको आरोप लगाए । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएको ओलीको भनाइ छ ।

उनले भने, ‘बिचरा ! माधव नेपाल । यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे । अदालत गए । कहाँ गएनन्? के गरेनन् उनले? र प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए । दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दा बस्दै, यसको वरिष्ठ नेता हुँदा हुँदै पछाडिको सिटमा बसेर, पछाडिको ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए । कहाँसम्म गिरेका होलान्?’

प्रतिक्रिया दिनुहोस्