काठमाडौं, २२ जेठ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।
यसैबिच गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिने विषयमा नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ। बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सांसदहरूले लेखकलाई संसदमा बोल्न दिने र उनको पक्षको जवाफ सुन्ने आवश्यकता औंल्याएका थिए।
बैठकमा अधिकांश नेताहरूले लोकतान्त्रिक प्रक्रियाअनुसार संसदमा सरकारका प्रतिनिधिलाई अभिव्यक्ति दिने अवसर दिनु पर्ने धारणा राखेपछि माओवादी केन्द्रले त्यसतर्फ संकेत गरेको हो। यसले सत्ता गठबन्धनभित्रको समन्वय र गम्भीर विषयहरूमा छलफल गर्ने वातावरण तयार गर्न माओवादी इच्छुक रहेको बुझिएको छ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले जवाफ दिन्छु भनिरहनुभएको छ । यस्तो अवस्थामा उहाँलाई बोल्न दिएर कुराहरू सुन्नुपर्छ । उहाँका कुरामा चित्त बुझेन भने अरु प्रश्न गर्न पाइन्छ’, माओवादीका एक पदाधिकारीले भने, ‘घटना र उठेका विषयमा कस्तो जवाफ आउँछ भन्ने विषयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।’
माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताउनुभयो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।