काठमाडौँ, २ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।
मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताएका हुन् ।
मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे । उनले पर्यटन क्षेत्रमा धैरै ऐन बदल्नु पर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह गरेका छन् ।
संसदमा बल दिए मात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाई थियो । मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।
‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौं । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामीत शोकेशको मान्छे मात्रै रहेछौं । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसदमा हाम्रो सक्रिय भूमिका भईदिनु पर्यो । चासो गरिदिनु पर्यो । तपाईहरुले बोलिदिनु पर्यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ । ’







