Logo

सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन: प्रधानमन्त्री



काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नभएको बताएका छन् ।

मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै आफूले पद ओगटिरहन जरूरी नभएको बताएका हुन् ।

‘हामी सबै आ-आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ,’ उनले भने, ‘यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’

उनले मन्त्रीहरूलाई पनि असफल हुने छुट नभएको बताएका छन् । कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई पनि माफ गर्नसक्ने अवस्था र मनस्थितिमा नभएको पनि उनले बताए ।

‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्