बनेपा, चैत ३० गते । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-५ नागबेलीमा अज्ञात समूहले बोधिचित्त मालाको रुख काटिदिएका छन् ।
बिहीबार राति १५/२० जनाको समूहमा आएको अज्ञात समूहले स्थानीय ठकुरानी तामाङको बारीमा रहेको करिब एक करोड रुपियाँको बोधिचित्त मालाको बोट काटेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अज्ञात समूहले बोधिचित्त मालाको रुख काट्नुको साथै तामाङको घरको ढोका र आँगनमा चार थान घरेलु सकेट बम राखेको बताए । अज्ञात समूहले बोधिचित्तको बोट काटेको थाहा पाएपछि स्थानीयवासीले शुक्रबार बिहान २:३० बजे इलाका प्रहरी कार्यालय मङ्गलटारमा खबर गरेको बताए ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले बोधिचित्त बोट काटेका अज्ञात समूहले राखेको सकेट बम नजिकै जनमुक्ति सेना नेपाल लेखेको एउटा ज्याकेट फेला परेको जानकारी दिए ।
कुन समूहले बोधिचित्तको रुख कटान गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको र धुलिखेलस्थित कालिजङ्ग गणको नेपाली सेनाको टोलीले सकेट बम डिस्पोज गर्ने काम गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।






