सोलुखुम्बु, २९ चैत । सगरमाथामा हिमपहिरोमा परि तीन जना बेपत्ता भएका छन् ।
आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए । बेपत्ता हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ का थेसुका शेर्पाहरू रहेका उनले बताए ।
पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा हराएकाहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।
उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । उनीहरूको खोजीका लागि प्रयास भइरहेको भए पनि खोँच रहेका कारण सफल नभएको अध्यक्ष शेर्पाले बताए ।
उद्धारका लागि एसपीसीसीको टोली घटनास्थलमा रहेको छ ।एसपीसीसीको टोलीले सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्दै आएको छ ।







