Logo

सगरमाथा आरोहणका लागि २५० जनाले लिए अनुमति



काठमाडौँ, १ बैशाख । वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ ।

हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा(८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन् । कोभिड-१९ महामारीपछि विस्तारै पर्यटन क्षेत्र तङ्ग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहणमा पनि केही उत्साह देखिएको छ ।

यस याममा विशेषगरी पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउँछन् । आन्तरिक पर्यटक पनि उत्तीकै सङ्ख्यामा गन्तव्य भ्रमणमा निस्कन्छन् । यतिखेर पर्वतारोहणका मुख्य सिजन पनि भएकाले आरोही उल्लेख्य सङ्ख्यामा आइरहेका हुन् । हिमाल आरोहणका लागि निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ ।

यस वर्ष (सन् २०२२०) को वसन्त याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा आरोही आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति जारी भएको छ । हिमाल आरोहणबाट हालसम्म रु ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ ।

प्रतिक्रिया दिनुहोस्