Logo

सगरमाथा क्षेत्रकाे भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्यो



काठमाडौँ, १ साउन । विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२ प्रतिशतले पर्यटक आवागमन बढेको हो ।

निकुञ्जको तथ्याङ्क अनुसार आ.व.०७७/०७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमा ०७८/०७९ मा २६ हजार ४ सय ७४ जनाले भ्रमण गरेका छन् । जुन सङ्ख्यात्मक हिसाबले २२ हजार १ सय ३९ जनाले बढी हो । जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २ सय ७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए ।

खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कार्तिक र फागुनदेखि वैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

प्रतिक्रिया दिनुहोस्