ताप्लेजुङ, १० पुस । सगरमाथा युथ क्लब, मोरङ ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको सेमिफाइनल खेलमा कञ्चनजङ्घाले पाँचथरलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय भएको हो । मोरङले बिटी फुटबल क्लब तेह्रथुमलाई ४–० गोलअन्तरले तथा पाँचथरले जलथल फुटबल क्लब, झापालाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
उपाधिका लागि मोरङ र सुनसरीबीच बुधबार प्रतिस्पर्धा हुनेछ । आइतबार भएको सेमिफाइनलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । सुनसरीले आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई २–१ गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
चासोक तङनामको अवसरमा कञ्चनजङ्घा फुङ्लिङ क्लब, ङा वोरक सङजुम्भो र चासोक तङनाम सञ्चालक समितिको संयुक्त पहलमा प्रतियोगिता आयोजना गरिएको हो । खेलको विजेताले रु तीन लाख दुई हजार ८० र उपविजेताले रु एक लाख ५१ हजार ८० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।